आइतबार १६ आश्विन २०७९

बिहीबार दिउँसो काठमाडौं महानगरपालिकाका प्रमुख बालेन उर्फ बालेन्द्र शाह डोजरसहितको टोली लिएर नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको ‘अल्फाबिटा कम्प्लेक्स’ पुगे र अवैध रूपमा बनाइएका संरचना भत्काउन लगाए।

त्यस क्रममा मेयर शाह र अल्फाबिटाका निर्देशक द्विराज शर्माबीच चर्काचर्की पर्यो। शर्माले मेयर शाहलाई तपाईं डन हो भनेर आक्रोश पोखे। यसैबीच अहिले सामाजिक सञ्जालमा तिनै द्विराज शर्मा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सँगै रहेको तस्बिर भाइरल भएको छ।

भाइरल तस्बिर बारे ओलीको सचिवालयले भने आपत्ति जनाएको छ। द्विराज शर्माको परिवार र केपी शर्मा ओली सँगै रहेको तस्बिरसहित प्रकाशित समाचार सेयर गर्दै अध्यक्ष ओालीका प्रेस विज्ञ रामशरण बजगाइँले विरोध गरेका हुन्।

‘यहाँ एमाले अध्यक्षको तस्बिर किन जोडेको हो? त्यो अल्फाबिटामा कार्यक्रम सञ्चालन गर्न जाँदा उनको परिवारसँग खिचेको तस्बिर राखेर दुरुपयोग गर्न पाइन्छ’, बजगाईंले सामाजिक सञ्जालमार्फत त्यो समाचार लेख्ने पत्रकारप्रति आक्रोश पोखेका छन्, ‘आफू लागेको पार्टी बलियो बनाउनुपरे जुलुसमा जानु, यसरी पेसालाई बदनाम नगर्नु, मेरो सुझाव।’

उनले एमाले अध्यक्ष ओलीको तस्बिर राखेको विषयमा आधिकारिक रूपमा जिज्ञासा राख्दा पनि सम्बन्धित पक्षले जवाफ नदिएको गुनासो गरेका छन्। ‘दुईपटक फोन गरेँ, रिसिभ हुँदैन’, उनले भनेका छन्।

यसरि चलेको थियो डोजर – बिहीबार दिउँसो ३ बजे महानगर प्रहारी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोलीको नेतृत्व गरेर मेयर साह अल्फा हाउस पुगे । टोलीमा उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख नायव प्रहरी महानिरीक्षक मिरा चौधरी पनि थिइन् ।

यसपटक बालेन अल्फा हाउसको स्वीकृत नक्सा र त्यससम्बद्ध फाइल बोकेर आएका थिए । सँगै थियो डोजर पनि । बालेनले घरधनीलाई बोलाए, तर कोही आएनन् । त्यसपछि अल्फा हाउसको मूल ढोकाबाट पसेर भूमिगत पार्किङभित्र चलाइएको ‘मेडिकल सेन्टर’का सञ्चालकलाई बाहिर बोलाए ।

त्यसपछि शिवाकोटीका प्रतिनिधिहरु पनि आए । बालेनले नक्सा निकालेर अन्डरग्राउन्ड पार्किङ देखाउँदै सोधे, ‘यो के हो ?’उनले नक्सामा लेखिएको ‘पार्किङ’ देखाउँदै त्यहाँ उपस्थित पत्रकारहरुलाई पनि भने, ‘पी ए आर के आई एन जी, देख्नु भयो नि ? नक्सामा पार्किङ छ, खिच्नुस् ।’

त्यसपछि बालेनले भूमिगत पार्किङमा चलाइएको मेडिकल सेन्टर हटाउन भने । र, अल्फा हाउसको मूल ढोकासँगै नक्सा विपरीत बनेको टहरामा राखिएको औषधि पसलमा डोजर चलाइहाल्ने जानकारी दिए ।सुरुमा अल्फाका प्रतिनिधिले २ दिनको समय मागे । बालेनले मानेनन् । उनीहरुले ‘एक दिनमै हटाउँछौं’ भने । तैपनि बालेन डेग चलेनन् ।

तत्कालै डोजर चल्ने देखेपछि सिवाकोटीका प्रतिनिधिहरुले ‘थप कागज आउँदै छ’ भन्दै तर्साउन खोजे । यसअघि यसैगरी समय दिंदा नर्भिक अस्पतालले अदालतबाट अन्तरिम आदेश लिएर आएको थियो । बालेनले तुरुन्तै डोजर चलाउने आदेश नगर प्रहरीलाई दिए ।

डोजर अघि बढेपछि पसल सञ्चालकहरुले औषधि र समान निकाल्न समय मागे । नगर प्रहरीले तुरुन्तै सामान हटाउन भन्दै ताल्चा खोलिदियो । केही मिनटमै ¥याकका औषधिहरु बोरा र कार्टुनहरुमा कोचिए ।सिसाका ढोका खोल्ने काम चलिरहेका बेला अल्फाका आक्रोशित प्रतिनिधिहरुले मेयर साहले कानुन मिचेको, डनगिरी गरेको अरोप लगाए ।

त्यो सुनेपछि बालेनले नगरप्रहरीलाई डोजर चलाउन थप समय नकुर्न आदेश दिए । डोजरले औषधि पसल चलाइएको टहरा केही मिनेटमै भताभुंग पारिदियो ।डोजर चल्दा अल्फाका प्रतिनिधिहरु चिच्याइरहे । तर, उनीहरुको चिच्याहट बिलाउने गरी भिडमा नारा लाग्यो– ‘बालेन दाइ, हाइ हाइ !’

त्यो दृश्य हेर्न भेला भएको समुहले मोबाइलमा फोटो/भिडियो खिच्दै अझ उच्च स्वरमा नारा लगाए, नारा लाग्यो– ‘बालेन दाइ, हाइ हाइ !’नाराबाजीकैबीच बालेन त्यहाँबाट बाटो लाग्दा अल्फाका प्रतिनिधिहरु टहरा भत्काउँदा नफुटेका सिसा तानिरहेका थिए ।

अल्फा हाउसमा डोजर चलिरहँदा शिवाकोटीले पार्किङस्थलको वैधानिकता/व्यावहारिकता पुष्टि गर्न समय पाउनुपर्ने भनेर सामाजिक सञ्जालमा लेखिरहेका थिए ।उनले फेसबुकमा लेखेका छन्, ‘मेयर बालेनलाई अनुरोध गर्छौं, अराजकता सिर्जना नगरौं । हामी यो देशको जिम्मेवार नागरिक हौं र कहिले पनि देशको कानून उल्लङ्घन गर्दैनौं ।’

तर, पार्किङको सवालमा अल्फा हाउसमा भाडामा बसेकाहरुको पनि चित्त बुझेको रहेनछ । त्यहाँ व्यवसाय गरिरहेका एक व्यवसायीका अनुसार अल्फा हाउसले अन्डरग्राउन्डमा अल्फा केयर चलाउन संरचना बनाइरहेको छ । यसअघि त्यहाँ खोलिएको क्याफे नचलेपछि अल्फा केयर बनाउन लागिरहेछ ।

‘अन्डरग्राउन्डमा पसल भएपछि हाम्रा ग्राहकले पेटीमै सशुल्क पार्किङ गर्नुपरेको छ,’ उनले भने, ‘अब पार्किङ खुल्यो भने सजिलो होला ।’


Last Updated on: August 25th, 2022 at 10:07 pm

तपाईको प्रतिक्रिया