बुधबार १९ आश्विन २०७९

काठमाडौं महानगरपालिकाको शहरी विकास महाशाखाको तथ्यांक अनुसार काठमाडौंमा अहिले २०० भन्दा धेरै भवनले नक्सामा अन्डरग्राउण्ड पार्किङ राखेर छुट सुविधा लिएका छन् । तर, त्यसमा व्यवसाय सञ्चालन भइरहेका छन् ।

यो समस्या अहिलेको मात्र थिएन । विगतमा अन्य राजनीतिक दलका जनप्रतिनिधि हुँदा पनि यो समस्या यथावत थियो । तर दलका निर्वाचित जनप्रतिनिधिले मतदाता भड्केलान् भन्ने डरले यस गलत कार्यविरुद्ध आवाज उठाउन सकेका थिएनन् ।

‘आफ्नै पार्टीका मान्छे घर धनी भएपछि राजनीतिक दलबाट निर्वाचित मेयरसँग आँखा चिम्लनु बाहेक अरु के विकल्प हुन्छ,’ २०७४ सालको निर्वाचनमा साझा पार्टीबाट मेयरको उम्मेदवार समेत रहेका थापा भन्छन्, ‘पार्टी वा राजनीतिको नाममा जे गरे पनि हुन्छ, नियम कानून कहाँ लाग्छ भनेर घरधनीहरुले निरन्तर राज्यलाई चुनौति दिइरहेका थिए ।’

अढाई महिनाअघि स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर चुनिएका बालेन्द्र शाह (बालेन) को नजर अहिले यही समस्यामाथि परेको छ । उनले १ साउनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर अरु प्रयोजनमा भाडामा नलगाउन भन्दै सार्वजनिक सूचना नै जारी गरे ।

सूचना जारी भएको मितिले ३५ दिनभित्र पार्किङ राख्नुपर्ने ठाउँमा राखिएका पसल र गोदाम हटाउन घरधनीहरुलाई निर्देशन दिइएको थियो ।तर तोकिएको अवधि सोमबार पूरा भएपछि अटेरी गर्नेविरुद्ध डोजर लिएर जाने बालेनले निर्णय लिए ।

त्यही अनुसार पहिलो दिन ६ भदौमा बानेश्वर क्षेत्रमा नक्सा विपरीत प्रयोजनका लागि प्रयोग भएका विभिन्न भवनमा अनुगमन गरे । यो अभियान थाल्नुअघि उनले नगर प्रहरी प्रमुखबाट धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई नियुक्त गरे । संरचना भत्काउन खोज्दा हुनसक्ने तनावको स्थितिलाई मध्यनजर गरेर नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग पनि समन्वय गरे ।

पार्किङको समस्याका कारण उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि हैरानी व्यहोरिरहेको थियो । त्यसैले ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मिरा चौधरी पनि मेयर बालेनसँगै अनुगमनमा उत्रिइन् ।

बानेश्वरमा जाँदा अन्डरग्राउण्डमा पार्किङ हुनुपर्ने ठाउँमा पसल सञ्चालन गरिरहेका बानेश्वर कम्प्लेक्सलगायत त्यसवारपरका क्षेत्रका व्यापारिक भवनमा राखिएका संरचना खाली गराए । नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार बानेश्वरमा महानगरपालिकाबाट अन्डरग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् ।

तीमध्ये अधिकांश भवनले पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको उनले बताए ।सांकेतिक रुपमा बानेश्वरमा अभियान चलाएर मात्र बालेन रोकिएनन्, बुधबार बिहानैबाट न्यूरोड र दरबारमार्गमा क्षेत्रमा गएर अनुगमन गरे ।

नक्सा पासविपरीत बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाए । बालेनले दरबारमार्गमा पनि त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन् । साँझ कोटेश्वरमा उनले अनुगमन गरे ।

बिहीबार बालेन निरीक्षणका क्रममा बानेश्वरको अल्फा हाउस पुगे, उनले घरधनीसँग नक्सा मागेको थिए । तर घरधनीले महानगरमै नक्सा भएको जवाफ दिएपछि बालेन आक्रोशित देखिए । त्यसपछि केहिबेर बालेन र घरधनीबीच भनावैरी पनि भयो, तर नागरिकबाट समर्थन पाइरहेका बालेन त्यतिमा रोकिएनन् ।

केहीबेरमा महानगरको टोलीले अल्फा हाउसको नक्सा ल्यायो । नक्सादेखेपछि अल्फा हाउसका घरधनीले संरचना हटाउने भन्दै केही समय दिन माग गरेका थिए । तर अवैध संरचनाविरुद्ध आक्रामक अभियान थालेका बालेनले उनको कुरा सुनेनन् । उनले अनधिकृत प्रयोग भएको संरचनामा डोजर चलाए ।


Last Updated on: August 25th, 2022 at 10:14 pm

तपाईको प्रतिक्रिया