
नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा काठमाडौं महानगरपालिकाले डोजर चलाएको घटनाप्रति नेकपा एमालेका नेता महेश बस्नेतले आक्रोश व्यक्त गर्दै एक स्टाटस लेखे ।
सामाजिक सञ्जालमा अल्फा बिटाका सञ्चालकसहित एमाले अध्यक्ष केपी शर्मा ओली र आफूसहितको फोटो सार्वजनिक गर्दै बस्नेतले महानगर प्रमुख बालेन्द्र शाहलाई अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन चलाएको भनेर प्रश्न गरेका थिए ।
बस्नेतले अल्फा बिटाका सञ्चालक आफूहरुसँग नजिक भएकै कारण वा फोटो खिचाएका कारण डोजर चलाएको भए आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका थिए । ‘बालेन शाहले अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन लगाएको?’ बस्नेतकाे प्रश्न छ- (१) नक्सा पास अनुसार घर निर्माण नगरेको भएर?
(२) हामीसँग नजिक भएर या फोटो लिएको कारण? उनी अगाडि लेख्छन्, ‘पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरुले कानूनी उपचार खोज्लान् नै।
दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ।’ उनले अराजकता नफैलाउन ‘कथित बुद्धिजीवी’ लाई चेतावनी समेत दिएका थिए ।
बस्नेतको यहि स्टाटसलाई मेयर बालेनले जवाफ दिदै भनेका छन् – फोटो त म सँग पनि खिचेका छन् ।पहिलाको कारणले नै हो ।नियम कानुन सबैले पालना गर्नु पर्छ कमरेड ।बरु हजुरको घरको नक्सा पास छ कि छैन ?
उता काठमाडौं उपत्यकामा पार्किङको लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा प्रयोग भएका भवनहरुले पार्किङ निर्माण गर्न लागेको सूचना टाँस गर्न थालेका छन् । आज काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले नयाँ बानेश्वमा रहेको अल्फाबिटाको अस्थाइ संरचना आफै बसेर भत्काएका थिए ।
अहिले काठमाडौंको बानेश्वरमा रहेको युएफओ भएको भवनले काठमाडौं महानगरको सूचनालाई अनुसरण गर्दै अण्डरग्राउण्ड पार्किङ मर्मत भइरहेको बताएको छ । सो भवनमा मन्जुश्री फाईनान्स र एनसीसी बैंक रहेको छ ।‘महानगरको सूचनालाई अनुसरण गर्दै अण्डर ग्राउन पार्किङ मर्मत भहिरहेको छ,’ सूचनामा उल्लेख छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अवैधरुपमा बनेका संरचनाहरु हटाउन एक्सनमा उत्रिएका छन् । महानगरभित्रका व्यापारिक भवनमा आफैं पुगेर उनले एक्सन लिन थालेपछि सामाजिक सञ्जालमा निकै सह्राहना भइरहेको छ ।